नेपाल आइडल–३ विजेताको विश्व भ्रमण तय

काठमाडौं : नेपाल आइडल सिजन– ३ का विजेताहरूको विश्व भ्रमण तय भएको छ। सिजन ३ को अडिसन सुरु भएसँगै उत्कृष्ट तीनको विश्व भ्रमण तय भएको हो। उनीहरूको विश्व भ्रमणका लागि एपी वान टेलिभिजन र इभेन्ट अर्गनाइजर गृष्मा ब्रोडकास्टिङबीच आइतबार सम्झौता भएको छ। सम्झौतापत्रमा एपी वान टेलिभिजनका एमडी लक्ष्मीप्रसाद पौडेल, गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरे र एपी वान टेलिभिजनका डाइरेक्टर सच्चन थापाले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।

अब गृष्मा ब्रोडकास्टिङ र मुनलाइट रेकर्डले नेपाल आइडल सिजन ३ का विजेताको विश्व भ्रमणको सम्पूर्ण व्यवस्थापन गर्नेछन्। सम्झौता सार्वजनिक कार्यक्रममा एपी वानका एमडी पौडेलले भने, ‘पछिल्लो समय धेरै ठाउँमा इन्टरनेटको पहुँच पुगेसँगै अन्तर्राष्ट्रियस्तरको रियालिटी सोको चर्चा चुलिँदै गएको छ। हरेकले हातको मोबाइलमा निःशुल्क स्तरीय सो हेर्न पाउनु खुसीको कुरा हो।

नेपाल आइडलको पहिलो र दोस्रो भाग अत्यधिक सफल भएको र आगामी सो अझ व्यापक बनाउन गृष्मासँग सम्झौता गरिएको उनले बताए। उनले नेपाली संस्कृति, संगीत र भाकाको बेग्लै पहिचान भएकाले नेपाल बाहिर बस्ने नेपालीसँग प्रत्यक्ष भेटघाट गराउन नेपाल आइडलका विजेतालाई विश्वका विभिन्न देशमा भ्रमण गराइँदै आएको बताए। नेपाल आइडल सिजन ३ आगामी कात्तिकबाट सुरु भएर फागुनको अन्तिमसम्म सम्पन्न हुने पौडेलले जानकारी दिए।

नेपाल आइडल टिमसँग जोडिनु गर्वको विषय भएको बताउँदै विजेताको विश्व भ्रमण व्यवस्थित र व्यावसायिक बनाउन आफूहरूले मेहनत गर्ने गृष्मा ब्रोडकास्टिङका अध्यक्ष घिमिरेले जानकारी दिए। नेपाल आइडल गाउँका कुना कन्दरामा लुकेर रहेका प्रतिभालाई स्टार बनाउने कार्यक्रम भएकाले यो कार्यक्रम राष्ट्रकै गौरव भएको उनको भनाइ थियो। गृष्मा ब्रोडकास्टिङले नेपाली कलाकारको विदेश भ्रमण, विदेशमा सांगीतिक कार्यक्रमको व्यवस्थापन, म्युजिक भिडियो निर्माणलगायतका कार्य गर्दै आइएको छ।

नेपाल आइडल सिजन २ का विजेताको अमेरिका, क्यानडालगायतका टुर अझै बाँकी रहेकाले गृष्माले उक्त काम पनि गर्नेछ। यो सम्झौता आगामी तीन वर्षका लागि गरिएको हो। जसअनुसार नेपाल आइडल सिजन ५ सम्म गृष्माले नै वल्र्ड टुरको व्यवस्थापन गर्नेछ। नेपाल आइडल– ३ को दुईवटा अडिसन सम्पन्न भइसकेका छन्।

यो सिजनका लागि देशका मुख्य ६ वटा सहरमा अडिसन हुँदैछ। पोखरा र बुटवल अडिसन सम्पन्न भएको छ भने अन्य चारवटा अडिसन बाँकी छ। नेपालगन्जमा ६ असोज, वीरगन्जमा १० असोज र बिर्तामोडमा १४ असोजमा अडिसन हुँदैछ। अन्तिम अडिसन कात्तिक ६ गते काठमाडौंमा हुनेछ। नेपाल आइडल सिजन ३ को निर्णायकमा संगीतकार न्ह्यु वज्राचार्य, संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहने छन्। अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टीभीले तीन वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ।

पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए। बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोस्रो र तेस्रो बन्न सफल भएका थिए। नेपाल आइडलमा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफलले देश विदेशका विभिन्न मञ्चमा प्रस्तुति दिँदै ख्याति कमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *