प्रधानमन्‍त्री ओली र प्रचण्डबीच भेटवार्ता : के कुरा भयो ?

काठमाडौं : सत्तारूढ (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयको भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ। प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुमा सम्पन्न असंलग्न राष्ट्रको अठारौं सम्मेलनमा सहभागी भएर फर्किएपछि दुई अध्यक्षबीच पहिलोपटक छलफल भएको हो।

केही दिनअघि दुई अध्यक्षबीच दूरी बढेको खबर सार्वजनिक भएका थिए। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अनिच्छा देखाएपछि दुई अध्यक्षबीच विवाद देखा परेको नेताहरुको भनाइ थियो। दुई अध्यक्षबीचको दूरी नबढेको सन्देश दिनेगरी प्रचण्ड ओलीलाई भेट्न सोमबार बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीको भदौ ५ को सिंगापुर भ्रमणअघि नेता वामदेव गौतमलाई उपाध्यक्ष, झलनाथ खनालको वरिष्ठतासँगै दाहाललाई पार्टी कामको कार्यकारी जिम्मा दिने समझदारी नेताहरूबीच भएको दाहाल पक्षका नेताको भनाइ थियो। सोही समझदारीअनुसार सचिवालयले खनाल र गौतमका विषयमा निर्णय लिए पनि दाहाललाई ओली नहुँदा एउटा बैठकका लागि मात्र पार्टीको अध्यक्षता गर्न दिएको र त्यसपछि फेरि प्रधानमन्त्रीले अधिकार दिन अनिच्छा देखाएएपछि दाहाल र ओलीबीच दूरी बढेको नेताहरुले बताएका थिए।

सोमबारको भेटलाई नेताहरुले दूरी घटाउने प्रयासको संज्ञा दिएका छन्। स्रोतका अनुसार आजको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलमात्र भएको बताएको छ। ‘अध्यक्षद्वयको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ’, स्रोतले भन्यो, ‘पार्टी एकताको बाँकी काम, मंसिर १४ गते हुने उपनिर्वाचनबारे छलफल भएको छ।’

विश्वबाटै संक्रमणजन्य रोगहरुको जोखिम अन्त्य गर्ने उद्देश्यले गठित विश्वका सांसदहरुको अन्तर्राष्ट्रिय नेटवर्क युनाइटमा नेपाली सांसदहरुको प्रतिनिधित्व गराउनेबारे पहल सुरु गरिएको छ।राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) ले उक्त नेटवर्कमा नेपाली सांसदहरुको प्रतिनिधित्वको लागि पहल गरेको हो। उक्त नेटवर्कमा छिमेकी देश चीन, भारत र पाकिस्तानका सांसदहरुको प्रतिनिधित्व रहे पनि नेपालको प्रतिनिधित्व हुन सकेको छैन।

युनाइटले एचआईभी एड्स, क्षयरोग, मलेरियालगायतका संक्रमणजन्य रोगको रोकथाम एवं त्यसको न्यूनीकरणको लागि विश्वव्यापी पैरवी, बहस र परियोजनागत काम गरिरहेको छ। उसले संस्थामा प्रतिनिधित्व गर्ने देशहरुका सांसदहरुको माध्यमबाट ती देशहरुमा स्वास्थ्य, शिक्षा तथा विकासको क्षेत्रमा लगानी गर्दै आएको छ।त्यसैले युनाइटमार्फत नेपालका एचआईभी एड्स संक्रमित, लागूपदार्थ दुव्र्यसनी, क्षयरोग र मलेरिया रोगको क्षेत्रमा काम गर्ने र गराउने उद्देश्यले नेपालका संघीय सांसदहरुलाई युनाइटमा प्रतिनिधित्व गराउने पहल थालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *