मेरा कुरा प्रचण्डलाई मन पर्यो, प्रचण्डका मलाईः ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हालै भएको भेटवार्तामा पार्टी एकता प्रक्रियादेखि कार्यविभाजनसम्म लामो छलफल भएको बताएका छन्।कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले भेटको क्रममा आफुलाई अध्यक्ष प्रचण्डको विश्लेषण मन परेको र आफ्ना कतिपय कुरा प्रचण्डलाई मन परेको शनिबार नेपालखबरसँग अन्तर्वार्ताका क्रममा खुलाए।

एमाले र माओवादी केन्द्रबीच एकता भएको करिब दुई वर्षपछि संभवतः पहिलो पटक अध्यक्ष प्रचण्ड पोखरेललाई भेटन उनकै निवास पुगेका हुन्। यसअघि पार्टी सचिवालय सदस्य पोखरेल अध्यक्ष प्रचण्डका कतिपय कार्यशैली र राजनीकि अडानको विपक्षमा उभिँदै आएका थिए।‘एकादशीका दिन अध्यक्ष प्रचण्ड मेरो निवासमा आउनु भयो, स्वाभाविक रुपमा पार्टीका नेताहरूबीच भेट हुँदा भैंसी र धानखेतको कुरा हुँदैन, राजनीतिक कुरा नै हुन्छ’, पोखरेलले पुरानै घुमाउरो शैलीमा भने, ‘अहिले हामी जुन ऐतिहासिक स्थानमा आएका छौं त्यसबारे अध्यक्ष कमरेडको विश्लेषण मलाई मन प¥यो। मैले थाहा पाएका कुरा गरें, उहाँलाई मन प¥यो।’

पोखरेलले भेटमा पार्टी एकता प्रक्रिया र अधिकार बाँडफाँटबारे भएका सबै कुरा खुलाएनन्। तर पार्टी एकता हुँदा र करिब एक महिनाअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघि भएको भनिएका सहमतीबारे फेरि पनि फरक धारणा राखे।‘पार्टीले कुनै पनि विषयलाई विधिवत रुपमा चिन्नुप¥यो अनि त्यसमा संस्थागत ढंगले निर्णय हुन्छ’, ओली र प्रचण्डबीच भएको भनिएको सहमतीबारे पोखरेलले भने, ‘दुई नेताहरूबीच समझदारी हुन्छ तर त्यसको समय, विधि, प्रक्रिया, सीमा र मर्यादा हुन्छ। त्यो डुक्रिँदै हिंड्नु पर्ने विषय होइन।’

पार्टी एउटा संस्था भएकाले दुई नेताबीच कुनै प्रकारको सहमति भएको भए त्यसलाई पार्टीले चिन्नु पर्ने उनले बताए।‘दुई नेताबीच भद्र समझदारी हुन्छ, तर त्यसको समय, मर्यादा र सीमा हुन्छ’, पोखरेलले भने, ‘सार्वजनिक खपत वा दबाब सिर्जना गर्नका लागि भन्दै हिंड्ने विषय होइन त्यो।’नेकपाले ‘जनताको जनवाद’ सिद्धान्त अंगिकार गरेपनि केही महिनाअघि ‘बहुदलीय जनवादको सिद्धान्तबाट यताउता हुन नसकिने’ अभिव्यक्ति दिएर उनी चर्चामा आएका थिए। पोखरेलले दुई पार्टीबीच एकता भएपनि ‘वैचारिक, सैद्धान्तिक र संगठनात्मक मिलाप हुन बाँकी रहेको’ बताए। तर फेरि छुट्टाछुट्टै पार्टीको प्रशंग अब झिक्न नहुने संकेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *